काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल अघिल्ला राष्ट्रपतिहरूजस्तै दलीय छायामा पर्नसक्ने चिन्ता प्रकट हुन थालेको छ । छ दशक लामो दलीय राजनीति गरेका र दलहरूबाटै राष्ट्रपतिमा निर्वाचित भएकाले यस्तो चिन्ता हुनु अस्वाभाविक पनि होइन ।
राजनीतिक जीवनको सुरुआती केही वर्ष कम्युनिस्टसँग नजिक भएका पौडेलले करिब छ दशकजति कांग्रेसबाटै राजनीति गरे । उनै पौडेल राष्ट्रपतिमा निर्वाचित भएर सोमबार पदभार ग्रहण गरेपछि कतै कांग्रेसको छाया त पर्ने होइन ? अन्य दलका नेताहरू झस्किएका हुन् ।
१० दलीय गठबन्धनको एउटा महत्वपूर्ण घटक नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले प्रभावसँग भने ‘प्राविधिकरूपमा कांग्रेसको वरिष्ठ नेताबाट मात्रै नभएर सदस्यबाट पनि राजीनामा दिएपछि उहाँ नेपाली कांग्रेसको होइन । तर, अहिलेको महत्वपूर्ण प्रश्न नै के हो भने उहाँ (राष्ट्रपति) कतै कांग्रेसको छायामा पर्ने त होइन ?’
यदि कांग्रेसको छत्रछायामा राष्ट्रपति पौडेल परे राष्ट्रपति संस्थाको गरिमा नजोगिने उनको भनाइ छ । ज्वाला मात्रै होइन, अन्य दलका नेताहरूको पनि आशंका यस्तै छ ।
तर, शीतलनिवासमा सोमबार कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट उनले ‘पक्षपात नगर्ने’ भन्ने व्यहोरा पनि समेटिएको शपथ ग्रहण गरेका छन् । उसो त उनले आइतबार नै कांग्रेससँगको आबद्धता त्यागेका थिए । यस आधारमा उनी दलीय आबद्धताको हिसाबले त स्वतन्त्र छन् ।
राष्ट्रपति स्वतन्त्र नै भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने नेकपा एमालेको ‘प्रतिनिधि’जस्तो भएको भन्दै पटक–पटक आलोचित भइन् । विवादमा आइन् । विद्येयक प्रमाणीकरण, अध्यादेश जारीदेखि प्रधानमन्त्री नियुक्तिलगायतमा भण्डारीले जे–जे गरिन्, त्यसलाई जोडेर उनको आलोचना भएको हो । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘रबरस्ट्याम्प’ पनि भनेको सुनियो । यसरी भण्डारी मात्रै होइन, पहिलो राष्ट्रपति डा. रामवरण यादव पनि दलीय आस्था जुन दलसँग छ, उक्त दलसँगको झुकाव देखाएको भन्दै आलोचित भए ।
यादव ती राष्ट्रपति हुन्, जसले लामो समय राजनीति गरेको आफ्नो दल कांग्रेसको इसाराअनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट प्रधानसेनापति रुकमांगद कटवाललाई बर्खास्त गर्न गरेको निर्णय उल्ट्याइदिएका थिए ।
यादव र भण्डारीले यसरी पूर्ववर्ती दलको इसारामा साझा पदमा बसेर पनि चालेका कदमले गर्दा राष्ट्रपति पौडेलले कतै त्यस्तै कदम त चाल्ने त होइन ? शंकाको दृष्टिले हेरिएको हो । कांग्रेस सांसद रामहरि खतिवडाले भने पौडेल कुनै दल विशेषको राष्ट्रपति नहुने दाबी गरे ।
‘विगतमा राष्ट्रपतिहरू कुनै जात, धर्म, दल, क्षेत्र आदिका भए होलान् तर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल यो देशको सबै नागरिकको राष्ट्रपति बन्नुहुन्छ,’ उनले भने, ‘कांग्रेसले भनेअनुसार होइन कि राष्ट्रपति पौडेल संविधान र कानुनअनुसार चल्नुपर्छ ।’
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कुनै दल विशेषको इसारामा चल्न नहुने पक्षका हुन् । र, उनी कुनै दलप्रति उच्च बफादार नेतालाई राष्ट्रपति बनाउनुपर्ने भन्ने मान्यताका विरोधी पनि हुन् । होइन भने उनले नेकपा एमालेसमेत रहेको तत्कालीन सात दलीय गठबन्धन भत्काउने थिएनन् । जुन गठबन्धनको ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति पूर्ण बफादार नेताहरूलाई राष्ट्रपति बनाउने तयारी गरेपछि बिच्किएर प्रधानमन्त्री दाहालले कांग्रेससहितको नयाँ गठबन्धन बनाए । उनै दाहालले गठबन्धन बनाएका कारण पौडेल राष्ट्रपति भएका हुन् ।
जसले गर्दा पौडेल कांग्रेसभन्दा पनि संवैधानिक सीमामा टेकेर देश र जनताको अभिभावक र राष्ट्रिय एकताको प्रतीकको रूपमा देखिने पनि कतिपयको विश्लेषण छ । यसबारे प्रस्टिन भने पौडेलको कार्यकाल हेर्नैपर्छ ।
तर, बिहीबार राष्ट्रपति पदमा आफैंलाई मतदान गरेपछि पत्रकारहरूसँग उनले राष्ट्राध्यक्षको रूपमा संवैधानिक सीमा रहेर संविधानको रक्षा र राष्ट्रिय एकताको कायम गर्ने बताएका थिए । उनले संविधान निर्माणमा आफू पनि संलग्न भएका कारण संविधानको अक्षर र भावनाअनुसार राष्ट्रपतिको पदीय गरिमालाई जोगाउने प्रतिज्ञा पनि गरेका थिए ।
पौडेलको भनाइ र गराइमा कति फरक हुन्छ ? देखिँदै जानेछ ।
संविधानतः राष्ट्रपति संविधानको संरक्षक हो । राष्ट्रप्रमुख हो तर, कार्यकारी भने होइन । निवर्तमान राष्ट्रपति भण्डारीले भने कार्यकारी भूमिकाको पनि अभ्यास गर्न खोजेको भनेर टिप्पणी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १०:१९