थाहा छैन म कसका लागि यो समुद्रपारि पसिना बगाइरहेछु । मट्याङ्ग्राको मथिङ्गलमा यस्तै–यस्तै कुरा खेल्न थालेको छ आजकल । आज पनि मट्याङ्ग्रो, बैरी कान्छासँग विलाप गर्दै पो रैछ । ‘भनन कान्छा दाइ, म कसका लागि रगत पसिना बगाइरहेको छु ।’तर, कान्छादाइ एक शब्द पनि निकाल्ने सोचमा छैनन् । कान्छादाइले लगाएको भित्री गञ्जी निथ्रुक्कै भिजिसकेको छ । खुलेको तालुबाट बालुवाको बस्तीको तातो पसिनाको नदी चाउरिएको निधानबाट बगिरहेको छ । मैलो भइसकेको रातो टिसर्टको फेद समाएर तालु र निधारको पसिना पुछ्दै कान्छा लामो सास फेर्छन् ।
अलि पर एक हुल उँट र भेँडा मट्याङ्ग्रा भएतर्फ आउँदै छ । कान्छा भन्छ, ‘उ ऽ पर हेर के आउँदै छ ?’ नजिस्कनु न कान्छादाइ ती हाम्रै उँट र भेँडा हुन् । अब चरिसकेर यतै आउँदै छन् । कान्छा खिस्स हाँस्छ र भन्छ, ‘पख हामी पनि त्यही भेँडा र उँटजस्तै चर्न आएका छौं, चरिसकेर हामी पनि फर्कौंला !’
मट्याङ्ग्राले कुरा नबुझेरै हो कि बुझेर हो कान्छालाई भन्छ, ‘अब त भेँडासँगै हामी पनि फर्कने त हो त्यत्ति पनि भन्नुपर्छ र !
एकोहोरो पारामा बैरी कान्छा भन्छ, ‘हो त, म अनि हामी पनि त्यही भेँडा हौं जो प्रजातन्त्र भन्दै जिन्दावाद र मुर्दावादको नारा लगाएर हिँड्यौ । लोकतन्त्र भन्दै निरंकुशताको विरुद्ध पनि संषर्ष ग¥यौं । त्यसो भएर पनि अब त वास्तवमै एउटा राजा फाल्न पाए ठीक हुन्थ्यो भनेर राजतन्त्रका विरुद्ध र गणतन्त्र प्राप्तिका लागि जंगलदेखि सहरसम्म पुग्यौं । आँखाभरि आँशु टिलपिल टिलपिल पार्दै बैरी कान्छो भन्छ, ‘कसका लागि रगत पसिना बगाइरहेका छन् त्यो पनि मलाई सोध्नुपर्छ र ?’बाबुआमाले जन्माइदिएको देशमा धेरै परिवर्तन भइसक्यो रे ! डेरा सर्नेहरुको स्वागत र बिदाइ भइसक्यो रे ! अब त खै थाहा छैन मट्याङ्ग्रा, म यही अवस्था बाबुआमाको देशमा सहजरुपमा पुग्न सक्छु कि सक्दिनँ, मोहम्मदले बनाएको काठको वाकसमा सुतेरै पो पुग्छु कि !
निकै निराश र भावुक अनुहारमा पसिनाले चिटचिट भइरहेको कान्छादाइको कुरा सुनेर मट्याङ्ग्रा स्तब्ध बन्छ । ऊ मनमनै सोच्छ, ‘थुइक्क, मैले किन सोधेको होला है ! कति पीडा र कष्ट पाएर हामी यहाँ आएका थियौं त्यो मलाई पनि त थाहा थियो ।’घुँडामा हातको कुम अड्याएर पुर्पुरोमा हात लगाएर बसेका कान्छादाइको घुँडामा घचघच्याउँदै मट्याङ्ग्रो भन्छ, ‘दाइ के हामीले ल्याएको परिवर्तन यसकै लागि थियो ? हाम्रा बाले दुःख पाए, हामीले दुख पायौं अब हाम्रा पुस्ताले दुःख पाउनु नपरोस् भनेर हामीले संघर्ष गरेको खेर गयो त दाइ ?’
मट्याङ्ग्राको कुरा सुनेर कान्छादाइ भन्छन्, ‘संघर्ष खेर गएको होइन । संघर्षले धेरैलाई राजा बनाइदिएको छ । खेर त तिमी–हामी गएका हौं । देशले युवा पुस्तालाई रोजगारी दिन नसक्दा यो मरुभूमिमा उँट र भेँडा चराइरहेका छौं । हामी काठको वाकस कुरिरहेका छौं । हामीले यही रगत पसिना बगाएर पठाएकै रेमिट्यान्सले त्यत्रा धेरै नेता पालिरहेका छौं । कहिले रगत सकिन्छ अनि हामी फेरि अनागरिक भएर बाबुआमाले जन्माएको देशका काठको बाकसभित्र बेरिएर जानेछौं ।’
दाइ किन बाउआमाको देशमात्र भनिरहनुभएको छ ? हाम्रो देश, मेरो देश किन भन्नुभएको छैन ? क्रोधको हाँसोमा बैरी कान्छादाइ उत्तर दिन्छन्, ‘कसरी हाम्रो देश ? कसरी मेरो देश ? मेरो देश भइदिएको भए त यतिखेर म उतै खेती गरिरहेको हुन थिएँ होला । कतै न कतै उत्पादन गरिरहेका हुने थिएँ होला । आज यसरी यो घामको धुपमा यसरी तिमी र म बस्नुपर्ने थिएन होला भाइ मट्याङ्ग्रा । त्यही भएर त्यो मेरो देश बन्नै सकेन । मैले त मेरो देश बन्छ भनेर संघर्ष गरेको थिएँ । पढाइलेखाइ सारा विश्राम लिएर परिवर्तनको रेखा कोर्छु भनेर हिँडेको थिएँ । तर, लामो सास फेर्दै कान्छादाइ भन्छन्, ‘तिमी र म जस्ता युवा देशको परिवर्तनका लागि होइन केही व्यक्तिको परिवर्तनका लागि उ त्यो उँट र भेँडाजस्तै भएका रहेछौं । सायद म मात्र होइन मेरो भावी पुस्ताले पनि यही नै व्यहोर्ने छ । देश परिवर्तन गर्छु भन्ने आफैं परिवर्तन भइदिएका छन् । तिमी–हामी दुःखी थियौं, छौं र रहिरहने छौं ।
बैरी कान्छादाइको कुरा सुनेर मट्याङ्ग्रो न्याउरो अनुहार बनाउँछ र भन्छ, ‘हो दाइ प्राकृतिकरुपमा त्यत्ति सुन्दर देश, सवै कुराले परिपूर्ण देश छाडेर आज यो मरुभूमिमा पसिना बगाइरहेका छौं । साँच्चै नै भन्ने हो भने हामी समुद्रपारि पसिना बगाउने ‘अनागरिक’ नै हौं । हामी अनागरिक जहिलेसम्म पसिना बगाउन सक्छौं त्यत्तिञ्जेल मात्र बाचौंला नभएर पानी पनि खान नपाएर मरौंला ।’
कान्छादाइ भन्छन्, ‘तिम्रा हामी परिवारको सुख र खुसीका लागि हामी यसरी कष्टकर जीवन बिताइरहेका छौं ।’ के थाहा उनीहरुलाई हामीले यो मरुभूमिका यसरी कष्ट गरिरहेका छौं भन्ने कुरा । हामीले छानेका, हामीले बनाएका अनि देश बनाउन पठाएकाहरु त तिमी हामीले पठाएको रेमिट्यान्सको हिसावकितावमा नै व्यस्त छन् । रातारात अबर्पति बन्न सफल भएका छन् ।
मट्याङ्ग्रा घोत्लिन्छ । कुरो पनि ठिकै हो राजनीति भनेको समाजसेवा थियो, अहिले त व्यापार भएको छ । त्यही व्यापारका कारण देश परिवर्तन गर्छु भन्नेहरुले नै आफैं परिवर्तन भइदिएका छन् । दैनिक दशौं हजार युवाहरु कामको खोजीमा विदेशिन बाध्य भएका छन् । बैरी कान्छादाइले भनेजस्तै, त्यो देश त बा आमाको देश हो । जसले जन्माइदिए, हुर्काइदिए, भोकै बसेर पढाइदिए अनि जब बलवान् छोराछोरी हुर्के बढे देशलाई खाँचो थियो तर नेताहरुलाई खाँचो नपरेकै कारण घुस ख्वाएर पासपोर्ट बनाएर विदेश पठाइदिए ।
गाउँ होस् या सहर त्यहाँ त बा, आमा मात्र पो बसिरहेका छन् । अनि बा आमालाई शासन गर्नेहरु अनागरिकहरुले पठाइदिएको रेमिट्यान्समा पो रमाइरहेका छन् । अब त्यो दिन पनि धेरै नआउँला ! जब कतार, दुबई, मलेसियालगायतका भेँडीगोठमा पुगेका युवाहरु फर्केलान् त्यसपछि र आफूलाई साँच्चै नै भेँडा नै बनाएकाहरुमाथि नर्कट बजाउन सुरु गरे भने सायद म त अनागरिक नै हुनेछु । समुद्रपारि पसिना बगाउने एउटा अनागरिक !
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १०:२४