काठमाडौं– झापा, बाह्रदशी गाउँपालिका– ५ बस्ने नेत्र प्रसाद अधिकारीको घरबाट सुन, चाँदीको विभिन्न गहना, तामा, चरेशको विभिन्न भाँडावर्तन, मोबाइल, क्यामेरा र नगद १ लाख ८० हजार रुपैयाँ समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुन्जे गुमान्जु बस्ने बिमला खत्रीको घरबाट करिब २ लाख १४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ भने खत्रीकै घरमा डेरा गरी बस्ने ओखलढुंगा घर भएकी ३९ वर्षीया रिता काफ्लेको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब २ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ ११:४७