काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको हाे ।
बिहीबार यूएईले लिग टू को अन्तिम खेल नेपालसँग खेल्नेछ । लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको बदला लिँदै यूएई २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेका हुन् ।
यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए भने उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरेका छन् । ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरेका छन् ।
पहिलो विकेटका रुपमा आर्यन लाक्राले यूएईले २४ रनमा गुमाएपछि तेस्रो क्रममा आएका भृत्य ५६ बलमा ५ चौकासहित ३३ रन बनाउँदै क्याच भएका हुन् । आयान र रिज्वानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका छन् ।
आयानले ४२ बल खेल्दै ४ चौका सहित ३८ रन बनाए र सिपी रिजवान २९ रनमा अविजित र आसिफ खान११ रन बनाउँदै अविजित रहे । पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक २ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको यसअघि पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो ।
पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् । यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।
यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १७:१५