काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आइतबारको खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले र विभागीय टिम नेपाल पुलिस क्बललाई ४–२ गोलले पराजित गरेका हुन् ।
आइतबारको जितसँगै त्रिभुवन आर्मी क्लब १० खेलबाट लिगको २३ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा नवयुग श्रेष्ठको दुई गोलसँगै आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक–एक गोल गरे । पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक–एक गोल गरे ।
खेलको २० औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए । तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुनः पुलिसले अग्रता बनायो । खेलको ५८ औँ मिनेटमा मानले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए पनि खेलको ७७ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–२ गोलको बराबरीमा ल्याए । ८५ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ४–२ को उत्कृष्ट जित दिलाए ।
खेलमा नवयुग म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको २२ अंक रहेको छ । पुलिस १० खेलमा १४ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै सम्पन्न पहिलो खेलमा साविक उपविजेता संकटा क्लबका अजयी मार्टिन्सको गोलका मद्दतले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । शेर्पालाई हराएसँगै संकटा लिगको छैटौँ स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए । लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ ।