नयाँ दिल्ली–एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सातजना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको सङ्ख्या ६४७ जना पुगेको छ ।
उहानबाट आइतबार बिहान ३ः१० मा उडेको एयर इन्डियाको विमान नयाँ दिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिदले ट्विटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।
चीनको उहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ ।
चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । (रासस÷एएनआई)
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ ०८:१५