काठमाडौं– ऐतिहासिक पर्यटकीय स्थल शैलुङमा पहिलो पटक म्याराथन प्रतियोगिता हुने भएको छ । यहाँ ५५, २५ र ५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद आयोजनाका अनुसार प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हिलेदेवी, गाल्वा, खाँडादेवी, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाँडा हुँदै शैलुङ पुगेर टँुगिनेछ । म्याराथनका लागि स्वदेशी र विदेशी गरी ५० जना धावकले नाम दर्ता गराएको जिल्ला खेलकुद विकास समिति रामेछापका कार्यालय प्रमुख अर्जुन कार्कीले जानकारी दिनुभयो । यसैगरी, सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाँडामा मात्रै सीमित ५ किलोमिटर म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा बेलायत, अमेरिका, स्वीडेन, जर्मनी लगायतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्दैछन् । अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिने धावकहरुले विभिन्न ९ स्थानमा चेक प्वाईन्टमा पुगेर नाम दर्ता गराउनु पर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । म्याराथन प्रतियोगिताका लागि रुट निर्धारण, चेकप्वाईन्ट तयारी लगायतका काम सकिएको राखेपले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १६:०१