काठमाडौं– नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ गायक राजेशपायल राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘हुरुक्कै भएँ म’ बोल गीतको भिडियोमा नेपाली फिल्मका लोकप्रिय अभिनेता दयाहाङ राई र चर्चित मोडल अलिशा राईले अभिनय गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा मायाप्रेम रूपरंगले मात्र नभएर मन र आत्माले हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । प्रेम दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ नजिकिँदै गर्दा गायक राजेशपायलले ‘हुरुक्कै भएँ म’ सार्वजनिक गरेका हुन् ।
एल्बम ‘सेवान्ने’मा समावेश उक्त गीतको भिडियोलाई राजेशपायलले आफ्नै कम्पनी ‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रा.लि.’को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।
कवि तथा गीतकार राजन मुकारुङको शब्द तथा दिनेशकाजी वान्तावाको संगीत रहेको उक्त गीतको भिडियो अभिनेता दयाहाङ बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा देखिएका छन् । तर, बोल्न नसकेपनि शिक्षिकाको भूमिकामा देखिएकी अलिशालाई भित्रभित्रै प्रेम गर्छन् । दयाहाङले नबोलेरै पनि अलिशासँग आफ्नो प्रेम व्यक्त गर्न कलाको प्रयोग गर्छन् । ‘हुरुक्कै भएँ म’को उक्त भिडियोलाई एकपटक हेरेपछि ‘राई इज किङ’का रूपमा चर्चित राजेशपायलमात्र नभएर १४ फेबु्रअरी अर्थात भ्यालेन्टाइन–डेको पर्खाइका रहेका युवा दर्शक पनि पक्कै ‘हुरुक्कै’ हुनेछन् ।
किरण चाम्लिङ राईको निर्देशन र सम्पादन अनिल रानाको रहेको यस भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले छायाङ्कन गरेका हन् । भिडियोमा अन्तिममा राजेशपायल राई आफैँ पनि देखिएका छन् । उनी किराती राईहरूकै मौलिक पहिरनमा देखिएका छन् ।