काठमाडाैं - कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । झन्डै सात सय सदस्य रहेको सङ्घको चुनावमा चार सय ६८ मत खसेकोमा दुई सय ३५ मत प्राप्त गरी निरौला अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरे । सङ्घ स्थापना हुँदा नै सदस्य रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष भइसकेका थिए । अध्यक्षमा निर्वाचित भएपछि निरौलाले आउँदाे दिनमा कलाकारले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।
उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भएका हुन् ।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भए । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए ।
अन्य सदस्यमा गोपाल ढकाल दुई सय ८७, उद्धवप्रसाद भट्टराई दुई सय ११, पवन केसी दुई सय दुई, नम्रता खरेल एक सय ८७, पुकार भट्टराई एक सय ८२, खुश्बु खड्का एक सय ७७, सरिता राधोपाध्याय एक सय ४६, रोशन श्रेष्ठ एक सय ३५ र समीर लामा एक सय ३३ मत प्राप्त गरी विजयी हुन् ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०८:२७