काठमाडौं - नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको हाे ।
भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।
डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आइतबारको बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १२:१६