टुँडिखेल भन्नेबित्तिकै नेपालको ऐतिहासिक स्थान हो । आज त्यहि ऐतिहासिक स्थानमाथि आँखा गाड्नेहरूले कब्जा गर्न थालेका छन् । यसमा सरकारले पनि मौन स्विकृति जनाएको छ । सरकारले पनि यसलाई बचाउनुभन्दा पनि यसमाथि कब्जा गर्न खोज्नेहरूलाई साथ दिनु दुर्भाग्य नै हो भन्ने बेला भएको छ । टुँडिखेलमाथिको आक्रमण रोक्नका लागि अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ । यसलाई सरकारले सुन्नै पर्छ । इतिहासको विभिन्न कालखण्डमा आएको विभिन्न भूकम्पका बेला टुँडिखेलले आमजनतालाई बासस्थान दिएको थियो । गत भूकम्पमा पनि टुँडिखेलले यस्तो सहयोग गरेको थियो । यस्तो अवस्थामा टुँडिखेलजस्तै विभिन्न स्थानमा खुलास्थान चाहिएको बताइँदै आइएको थियो । तर, भूकम्पको केही वर्ष नबित्दै यस्तो आवश्यकताको महसुस गरिएन । सरकारले पनि यस्तो आवश्यकता महसुस गरेको छैन ।
अकुपाई टुँडिखेलका अगुवाहरूले अहिलेसम्म स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणका लागि हारगुहार गरेका छन् । तर कुनै सुनुवाई भएको देखिएको छैन । यसो भए पनि बाध्य भएर वाग्मती प्रदेशको सरकार र संघीय सरकारलाई नै अब यसको संरक्षणका लागि उनीहरूले आग्रह गरेका छन् । टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएको भए पनि यसलाई सरकारले साधारण रूपमा लिएको देखिन्छ । आयोगले यसलाई गम्भीर रूपमा लिएर सरकारलाई सो अतिक्रमण तत्काल हटाउन सिफारिस गर्नुपर्छ । टुँडिखेलको संरक्षणका लागि विभिन्न तहबाट सुरुदेखि नै आवाज उठाउँदै आएको भए पनि यसलाई सरकारले सुनुवाइ नगर्ने पक्षमा देखिएको छ । यस्तो अवस्थामा सरकार जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । सरकारले सुनेन भने यसलाई निरन्तर आवाज उठाउँदै जानुपर्दछ । जनताको आवाज सुन्न आनाकानी गरेको खण्डमा जनताले सरकारको कान खोलेर पनि सुनाउनुपर्छ ।
टुँडिखेलको संरक्षणका लागि सांसदहरूले संसदमा समेत आवाज उठाउनु पर्ने बेला भएको छ । प्रमुख रूपमा राजधानीका सांसदहरूले टुँडिखेलको संरक्षणका लागि कुनै न कुनै रूपमा आवाज उठाउनैपर्छ । टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट रूपमा सरकारले बुझ्नुपर्छ । टुँडिखेल भन्नेबित्तिकै काठमाडौंको लाइफलाइन नै हो । यसको रक्षा गर्नु सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । यो अभियानलाई सफल नबनाउने हो भने सांसदहरू पनि असफल हुने छन् । ऐतिहासिक महत्व बोकेको टुँडिखेलको संरक्षणमा तीनै तहका सरकारले गम्भीर तरिकाले अघि बढ्नुपर्छ । टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अत्यावश्यक र महत्वपूर्ण स्थान हो किनभने भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भनेपनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्नुपर्ने हुन्छ । टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल हो । टुँडिखेल भन्नेबित्तिकै स्थानीय दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरू यो ठाउँमा हुने गरेका छन् । त्यसैले यो क्षेत्रलाई पुरानै स्वरूपमा फर्काउनुपर्छ । पूर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मूर्त तथा अमूर्त अवयवहरूको अस्तित्व संरक्षण र संवद्र्धन गर्न सरकारले कुनै कसर बाँकी राख्न मिल्दैन ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ ०८:५४