काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो ।
१० महिनाअगाडि मात्रै डा.भुषाल विभागको महानिर्देशकका रूपमा नियुक्त भएका थिए । यस अवधिमा वैदेशिक रोजगारलाई व्यवस्थित मर्यादित तथा पारदर्शी बनाउन उनले थुप्रै पहल गरेका थिए । डा.भुसालले वैदेशिक रोजगारलाई पारदर्शी बनाउन अनलाइन प्रणालीमा जोड दिएका थिए ।
उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई इलेक्ट्रोनिक टोकन प्रणाली तथा इलेक्ट्रोनिक स्टिकर प्रणाली लागू गरिसकेका छन् । उनले वैदेशिक रोजगारमा जाने कामदार छनोट प्रणाली पनि अनलाइनबाटै गर्न जोड दिइरहेका थिए । र, उनकै पहलमा फेम्स्अन्तर्गत कामदार छनोट मोडुल र मागपत्र प्रमाणीकरण मोडुल पनि सञ्चालनमा छ ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ ०८:५९