काठमाडौं– संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि समितिले आइतबार उनको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरेका ह्न ।
उनले विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्ने बताउँदै राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने आफ्नो भगिरथ प्रयत्न रहने बताए । सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
समितिका सदस्यहरूले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वा्चित हुनुभएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरूलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गरे ।