नेपालमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अद्यपि कायमै छ । अहिले पनि दैनिक हजारौंको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । यसरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगीमा पर्ने क्रम नेपालबाटै सुरु हुन्छ ।
विदेशमा पठाइदिने नाममा विभिन्न व्यक्ति तथा कतिपय म्यानपावर कम्पनीबाटै उनीहरु ठगीमा पर्ने गरेका छन् । विदेशमा पुगेपछि उनीहरु झन् विभिन्न समस्यामा पर्ने गरेका छन् । विशेषगरी मलेसिया र खाडी मुलुकहरुमा बढी नेपाली समस्यामा पर्ने गरेका छन् । ती मुलुकमा नै सबैभन्दा धेरै नेपाली श्रमिकहरु रोजगारीका लागि पुग्ने गरेका छन् । अहिले पनि सो क्रम जारी छ ।
यहीबीच वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगी विभिन्न कारणले नेपालीहरु जेलमा परेकासम्बन्धमा साउदीस्थित नेपाली दूतावासले जानकारी गराएको छ । दूतावासका अनुसार त्यहाँको जेलमा रहेका नेपालीहरुमध्ये अधिकांशलाई मदिरा ओसारपसार (कारोबार) गर्ने गरेको अभियोग लगाइएको दूतावासले उल्लेख गरेको छ ।
दूतावासले साउदीको सेन्ट्रल जेलमा रहेका नेपालीहरुको संख्यालाई आधार मान्दै जेल परेकामध्ये अधिकांशलाई मदिरा कारोबारमा संलग्न रहेको अभियोग लागेको जनाएको छ । साउदीको सेन्ट्रल जेल निरीक्षण गर्दा झण्डै १५० नेपालीहरु बन्दी रहेका र त्यसको ८० प्रतिशत मदिरा ओसारपसार र खरिद बिक्रीमा संलग्न भएको अभियोगमा जेल परेको दूतावासको भनाइ छ ।
अर्को गम्भीर कुरा के हो भने यसरी सोझा नेपालीहरुलाई जेलमा पु¥याउने काममा नेपालीहरु नै संलग्न रहेको दूतावासले जनाएको छ । नेपालीहरु मदिरा कारोबारको अभियोगमा जेल पर्नु दुःखद विषय हो । मदिराको कारोबार साउदीमा पूर्णतः गैरकानुनी मानिन्छ । साउदी कानुनअनुसार मदिरा उत्पादन, सेवन र बिक्री बितरण गर्नु अपराध हो ।
मदिरा बिक्रीवितरणको मात्राका आधारमा छ महिनादेखि वर्षौंसम्म जेल सजाय र जरिवाना भुक्तान गर्नुपर्छ । त्यसैले क्रियाकलापमा संलग्न नहुन सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । साथै, साउदीको कानुनबारे पर्याप्त जानकारी दिनुपर्छ ।
आफ्ना चिनजानकै साथीभाइबाट यस्तो अभियोगमा फस्ने हुँदा सचेत हुनुपर्ने आवश्यकता देखिन्छ । यस्तो सचेतनाको सन्देश साउदीमा पुग्ने प्रत्येक श्रमिकसमक्ष पु¥याउन जरुरी छ । साथै, त्यहाँ बसेर आफ्नै नेपाली दाजुभाइलाई फसाउने व्यक्तिहरु पहिचान गरी कारबाही गर्नुपर्छ ।
यसका लागि साउदीस्थित दूतावासले प्रभावकारी कदम चाल्नुपर्छ । र, विभिन्न अभियोगमा जेलमा परेका नेपालीहरुको उद्धारका लागि पनि तत्काल कदम चाल्न जरुरी छ । यसतर्फ सरोकारवाला निकाय र सरकारको ध्यानाकर्षण होस् ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ ०९:५१