काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अंग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन् ।
विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौंको ७४औँ वार्षिकोत्सव समारोहमा उनले दक्षिण एशियाको पुरानो भाषाका रूपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अंग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘अंग्रेजी मात्र होइन, चिनियाँ लगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ । अंग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।’ उनले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने बताए । नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने हुँदा राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको उनको भनाइ छ ।
‘पहिले÷पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो’ मन्त्री पोखरेलले भने, ‘प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफैँ पनि धेरै सिक्न थालेका छन् ।’ उनले शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्ने बताए । सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेकामा उनको जोड थियो ।
मन्त्री पोखरेलले काठमाडौं उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको बताउँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने बताए । ‘अधिकांश सामुदायिक विद्यालय भौतिकरूपमा सबल छन्’ उनले ‘तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन् ।’ उनले गणित र विज्ञानको नजिता सन्तोषजनक आउन नसकेको बताउँदै सरकारले विज्ञान विषय सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न लागेको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए ।