काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत लिएका हुन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत परेको थियो ।
उहाँलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्रीको विपक्षमा ८९ मत परेको थियो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन्। नेपाल मजदूर पार्टीका १ जना सांसदले भने पक्ष वा विपक्ष दुबैतर्फ मतदान गरेनन् ।
नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतका लागि आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०८:०७