कुवेत - जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । कुवेती सञ्चार माध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दै गरेको पाइप घेरिएको देखिएपछि सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको हाे ।
विज्ञप्तिमा भनिएको छ, “देशको पश्चिमी भागमा तेल चुहिएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।” कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भन्नुभयो, “यो चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन ।”
चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ तर अहिलेसम्म चुहावट कहाँबाट भएको भन्नेबारे थाहा भइनसकेको अल–अमेरले बताए । कुवेतको अल राई अखबारले ट्वीटरमा एउटा भिडियो सार्वजनिक गरेको छ जसमा एउटा पाइपबाट बाँझो जमिनमा ठूलो परिमाणमा तेल चुहेको देखिएको छ ।
यद्यपि एएफपीका सम्वाददाताले यो फुटेजलाई स्वतन्त्र रुपमा पुष्टि गर्न नसकिएको बताएका छन् । कुवेत एक प्रमुख तेल उत्पादक देश हो जहाँ सरकारले करिब ९० प्रतिशत राजस्व तेलबाट आर्जन गर्छ ।
पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को प्रमुख सदस्य राष्ट्रमध्ये एक कुबेतले हाल प्रति दिन लगभग २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ।
कुवेत आयल कम्पनीले यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको जानकारी दिएको थियो । सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुई वटा चुवावटका घटना भएको कुबेती अधिकारीले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०९:१९