काठमाडौं– अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना म्यानेजरलाई काठमाडौंमा पक्राउ गरिएको छ । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्याएको समेत खुलासा भएको छ ।
वान एक्स बेटमा, खेलाडी (बेटिङ गर्ने व्यक्ति), वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजरहरू हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन् । मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १४:२०