काठमाडाैं - आज विश्व मौसम विज्ञान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय मौसम विज्ञान तथा जल विज्ञान सम्बन्धी कामबारे विस्तृत जानकारी गराउन र नागरिकले त्यस्ता कामको विश्वास गर्ने अवस्था सिर्जना गर्नका लागि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम विज्ञान दिवस मनाउने गरिएको हाे ।
यसपालिको दिवसमा मौसम र जलवायु परिवर्तनले आउने पुस्तामा पार्ने प्रभावलाई जोड दिइएको छ । जलवायु परिवर्तनका कारण असर पर्न थालेपछि यसलाई रोकथाम गर्न विश्व समुदायको चासो बढेको छ ।
जनसङ्ख्या वृद्धि, सहरीकरण र अव्यवस्थित औद्याेगीकरणका कारण वातावरणमा प्रदूषण बढेको छ भने प्राकृतिक प्रकोपको जोखिम पनि बढेको छ । मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ ।
मौसम पूर्वानुमानकै कारण जल, स्थल र हवाई यातायात सञ्चालन गर्न तथा हिमाल आरोहण र खेतीपाती साथै अन्य दैनिक गतिविधि सहज बन्ने छ । विभिन्न देशले मौसमको वैज्ञानिक पूर्वानुमानलाई संस्थागत गरेका छन् ।
सबैजसो देशमा मौसमको निगरानी गरी भविष्यवाणी गर्ने निकाय छन् । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको विश्व मौसम सङ्गठनले सबै देशका मौसम सम्बन्धी निकायबीच जानकारी, सिप र प्रविधि आदानप्रदान सहज पार्दै आएको छ।
विश्वमै मौसम पूर्वानुमानका आधारमा गरिएका बचाउ प्रयासबाट तुलनात्मक रूपमा आँधी, अतिवृष्टि जस्ता घटनामा मानवीय क्षति कम भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०९:०३