गैरनेपालीलाई सक्कली नेपाली नागरिकता ! त्यसरी नागरिकता दिलाउन प्रतिव्यक्ति तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम असुली । सुन्दा अपत्यारिलो लाग्ने यस्तो घटना वास्तविकतामै भइरहेको खुलासा भएको छ । नागरिकता जस्तो संवेदनशील कागजात यसरी गैरनेपालीलाई दिलाउने कार्य हुनु अत्यन्त गम्भीर विषय हो ।
नेपाल प्रहरीका अनुसार नक्कली कागजात बुझाएर गैरनेपालीलाई सक्कली नागरिकता दिलाउन ठूलो गिरोह नै सक्रिय रहेको देखिन्छ । प्रहरीका अनुसार उक्त गिरोहले ५०० भन्दा बढी व्यक्तिलाई नागरिकता दिलाएको अनुमान छ ।
एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको प्रहरीले खुलासा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने व्यक्तिसमेत परेका छन् । उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको जानकारी दिइएको छ ।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएको जानकारीअनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्म दर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद, वडा कार्यालयको सिफारिसलगायतका महŒवपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ ।
कीर्ते कागजात बनाउनु आफैंमा अपराध हो । अझ सोही कीर्ते कागजका आधारमा सक्कल नागरिकता लिनु गम्भीर विषय हो । त्यसै पनि खुला सीमाका कारण नेपालमा नागरिकताको विषय अति संवेदनशील बन्दै आएको छ । यसरी कीर्ते कागजात बनाएर गैरनेपालीलाई सक्कली नागरिकता दिलाउने गिरोह सक्रिय हुँदा थप चुनौतीपूर्ण बनाएको छ ।
यस्तो आपराधिक कार्यमा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुकै संलग्नता रहेको आशंका गरिएको छ, जुन जायज छ । किनभने, उनीहरुको संलग्नता वा सहयोगविना गैरनेपालीलाई नेपाली नागरिकता दिलाउनु असम्भवप्रायः छ ।
त्यसैले ती अधिकारीहरुमाथि प्रत्यक्ष निगरानी र अनुसन्धान हुन जरुरी छ । यस्तो आपराधिक कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइनु हुँदैन ।नागरिकता कसले पाउने भन्ने नेपालको संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार नागरिकता प्रदान गर्ने कार्य सम्बन्धित निकायले गर्नुपर्छ । यहाँ कतिपय वास्तविक नेपाली नागरिकले नै नेपाली नागरिकता पाउन नसकेको अवस्था छ ।
उनीहरुलाई नागरिकता दिलाउन भन्दै नागरिकता विधेयक अघि बढाउने कार्य पटक–पटक भएका छन् । तर, अहिलेसम्म पनि त्यसले पूर्णता पाउन सकिरहेको छैन । राजनीतिक दलहरुले आफूअनुकूल विधेयक अगाडि बढाउने प्रवृत्तिका कारण यसमा खिचातानी हुने गरेको छ ।
तर, यहीबेला धमाधाम कीर्ते कागजातबाट गैरनेपालीले सक्कली नागरिकता लिइरहेको सार्वजनिक हुनु राज्यका लागि ठूलो चुनौती हो । त्यसैले गृह मन्त्रालय र मातहतका निकायहरु यस्तो कार्य नियन्त्रण र दोषीलाई कानुनी कठघरामा उभ्याउन सक्रिय बन्न जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ ११:५५