यतिखेर मुलुक आर्थिक मन्दीको चपेटामा परेको चर्चा र बहस भइरहेको छ । बैंक वित्तीय संस्थाले रकम अभाव भएको बताइरहेका छन् । सहकारी, लघुवित्तहरुमासमेत रकम नभएकाले निक्षेपकर्ताले आफूले राखेको आफ्नै रकम पनि भुक्तानी नपाउने अवस्था सिर्जना भएको छ ।
बैंकहरुमा रकम अभाव भएको हो भने निक्षेपकर्ताहरुको रकम कहाँ गयो भन्ने प्रश्न उठ्न थालेको छ । हरेक वर्ष नेपाल राष्ट्र बैंकले निकाल्ने गरेको रकम कहाँ गयो त ? के साँच्चै नै नेपाली नोट हराएकै हो त ?
बैंक भन्छ– पैसा छैन, व्यापारी भन्छन्– व्यापार छैन, नागरिकहरु– भन्छन् पैसै भएन । नेपाली नोट नेपालबाहेक अन्त चल्दै चल्दैन । त्यसो भए कहाँ गयो त नेपाली नोट ?
नेपालमा धेरै नै अर्थविद्हरु छन् । बेला न कुबेला कराउने अर्थविद्हरु अहिले देशमा आर्थिक मन्दीको संकेत गरिरहँदा आफ्नो विज्ञतालाई प्रस्तुत गर्न सकिरहेका छैनन् । सरोकारवाला निकाय तथा व्यक्तिहरुको भनाइ सुन्ने हो भने देश श्रीलंका हुन लागेको हो ? वा श्रीलंका बनाउने प्रयास गर्न खोजिएको हो ।
दश बर्षे सशस्त्र द्वन्द्व होस् वा विनासकारी भूकम्प, नाकाबन्दी होस् वा कोरोना महामारीका समयमासमेत चलायमान नेपालको अर्थतन्त्र अहिले किन संकटतिर उन्मुख छ । कतै आर्थिक मन्दीको ढोलक पिटेर जनतालाई आर्थिक आतंक सिर्जना गराउने कुनै खेल त भइरहेको छैन ?
अहिले आर्थिकरुपमा विषम् परिस्थिति बनाएको यो अवस्थामा केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले विभिन्न पेसा व्यवसाय गरिरहेका नागरिक व्यवसायीहरुलाई समेत मध्यनजर गर्दै हरेक दिन देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुपर्ने अवस्था आएको छ ।
केही आर्थिक क्षेत्रका सञ्चारकर्मीलाई मात्र च्यापेर हिँड्ने नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले जनताको आर्थिक आतंक मच्चिरहेका बेला मौन बस्नुको कारण के होला ? अर्थ मन्त्रालयको बजेट महाशाखाले सरकारी निकायका बजेटलाई धमाधम कटौती गरिरहेको छ । कतिपय महŒवपूर्ण बजेट पनि सिंहदरबारभित्रको एउटा बैठक कोठामा बसेर काटिरहनुभन्दा के कारण बजारमा रकम अभाव भएको छ भन्ने कुराको अध्ययन गरी सार्वजनिक गर्नुपर्ने होइन र ?
मुलुकमा रकम अभाव भएको देखाएर कतै आर्थिक हस्तक्षेप गर्ने प्रयास त होइन ? अनुत्पादक क्षेत्रका रुपमा रहेको सेयरबजार, घरजग्गार एवं सवारीमा लगानी गर्ने बैंकहरुले उच्च मूल्यका कृषि वस्तुहरुको उत्पादनमा लगानी गर्ने हो भने नेपाली रकम अभाव होइन तीनै उच्च मूल्यका कृषि बस्तु निर्यात गरेर डलर भित्र्याउन सकिने सोच बनाउने कि हल्ला मात्र गरेर जनतालाई आतंकित बनाउने ?
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १३:३६