काठमाडौं (प्रस)– वैदेशिक रोजगारीको क्रममा बिचौलियाको फन्दामा परी बेलारुस पुगेर अलपत्र परेका नौ जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । उनीहरुलाई विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पीडित महिलाहरुले उद्धारका लागि टिकटकमार्फत आग्रह गरेपछि नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले उनीहरुको फिर्तीका लागि पहल गरेकी थिइन् । उनले ललाइफकाइ बेलारुस पु¥याएर अलपत्र पारिएका महिलालाई विभिन्न संघसंस्था र सरकारी निकायका सहयोगमा स्वदेश फर्काउन सफल भएको बताइन् । अलपत्र अवस्थामा उद्धार गरी फर्काइएका पीडित महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुष्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन् ।
पीडितहरुले बेलारुसमा तोकिएभन्दा बढी दैनिक १२ घण्टा काम गर्नुपरेको र पारिश्रमिकसमेत नदिएको भन्दै दुखेसो व्यक्त गरे । उनीहरुले शारीरिक तथा मानसिक पीडा मात्र नभई डलरमा पारिश्रमिक दिने भने पनि बेलारुसमा पुगेपछि बेलारुसी ७५ रुबेल दैनिक दिने गरेको बताए । उनीहरुलाई झुक्याएर बेलारुस पु¥याउने एजेन्टको खोजी तथा कारबाही गर्दै क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भट्टराईले बताइन् ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १०:५०