काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए।
“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताए ।
उनले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल भएको चर्चा गरे । राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको विशेषता भएको बताए । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी सङ्गम रहेका विरलै मानिसमध्ये जोशी अब्बल दर्जाको भएको बताए ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ११:४०