काठमाडौं– जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।
जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानीे दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरेको जानकारी दिएको हो ।
उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएका छैनन् ।
मात्सुनोले भने, “यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ ।
टोकियोले ती व्यक्तिसँग बाणिज्य दूताबासको पनि माग गरिरहेको उनले बताए ।
यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनी तत्काल जापान फर्किनुभएको थियो । सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १५:०७