काठमाडौं — अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औँ स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।
यसअघि पनि नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमै रहेको थियो । टी–ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औँ स्थान हो । टी–ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् ।
टी–ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ । नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन् । अघिल्लो पटक पारस ६० औं स्थानमा रहेका थिए । बलिङतर्फ सन्दीप लामिछानेको वरियता घटेको छ । अघिल्लो पटक ८३ औं स्थानमा रहेका सन्दीप ८५ औं स्थानमा झरेका छन् ।
अलराउण्डतर्फ पारस यथावत २७ औँ स्थानमा रहेका छन् भने सोमपाल कामी ६५ औँ स्थान बनाउन सफल छन् । अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७५ औँ स्थानमा उक्लिएका छन् ।