देशमा प्रजातन्त्र आएको करिब ७३ वर्ष पूरा भएर ७४ वर्षतर्फ अगाडि बढिरहेको छ । जनताले बाँच्न पाउने, बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न त्यसबेला चार सहिदहरुले बलिदानी पनि दिए । त्यसको जगमा २००७ सालमा प्रजातन्त्र प्राप्त भयो पनि ।
त्यही प्रजातन्त्र २०१७ सालमा फेरि खोसियो । खोजिएको अधिकारका पुनः प्राप्ति गर्नका लागि पटक–पटक आन्दोलन भए । जनताका छोराछोरीले रगत बगाए । असफलताबाट क्रमशः सफलतातिर उन्मुख हुँदै २०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनः प्राप्ति गर्न सफल पनि भयो ।
देशमा प्रजातन्त्र आएपछि जनताको छोरा मट्याङ्ग्राहरु बोल्न पाउने भए, लेख्न पाउने भए, विनाहातहतियार आफ्नो विचार राख्न पाउने पनि भए । तर, त्यत्तिले मात्र पुगेन । यो देशमा राज गरिरहेको राजतन्त्र नै फाल्ने र गणतन्त्र ल्याउने भन्दै २०५२ फागुन १ गते माओवादीका नामबाट सशस्त्र द्वन्द्व सुरु भयो ।
राज्यपक्ष र सशस्त्र द्वन्द्वरत पक्षबीच पटक–पटक भिडन्त भई नै रहे । क्रमशः यो द्वन्द्वले चरम रुप लिँदै गयो । गाउँमा राज्यपक्षले माओवादीपक्षलाई आतंककारीको बिल्ला लगाउँदै ठोक्न थाल्यो । अनि भूमिगतरुपमा रहेको माओवादीले प्रहरी सेनाका परिवारलाई समेत खेद्न थाल्यो । कतिपय गाउँमा बस्नेहरुलाई सुराकीका नाम हत्या हिंसा गर्ने काम सक्रिय रह्यो ।
दुवै पक्षको भिडन्तमा एउटा पनि विदेशी मारिएनन् । दुवै पक्षका नेपाली दाजुभाइ दिदीबहिनी नै मारिए । करिब १० वर्ष चलेको यो घटनाले गाउँबस्ती रित्तो बन्न पुग्यो । गाउँमा मान्छे बस्न नसक्ने भए । सक्नेहरु काठमाडौं छिरे, कम सक्नेहरु सदरमुकाम छिरे केही नै गर्न नसक्नेहरु गाउँमै कुनबेला मरिने हो भन्ने त्रासमा नै गाउँमा रहे । जो अहिलेसम्म पनि गाउँमा नै छन् । त्यही बेला तात्कालीन राजाले दलहरुमाथि प्रतिबन्ध लगाउँदै जननिर्वाचित संसद् भंग गरी शासनसत्ता आफ्नै हातमा लिएर कु गरे । मौकाको फाइदा उठाउँदै देशमा चलेको सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने विदेशी शक्तिहरु यो वा त्यो नाममा नेपाल छिरे । अनमिन भन्नेले त अझ द्वन्द्व चर्काएर आफू यही बसिरहने सोच पनि बनायो । तर राजनीतिक दलहरुले त्यसलाई हटाउन सफल भए ।
दलहरुले २०६२ ÷६३ सालमा भूमिगत रहेको माओवादी समेतको अदृश्य संलग्नतामा जनआन्दोलन भयो । त्यही आन्दोलनको बलमा देशमा लोकतन्त्र स्थापन भयो । लोकतन्त्र स्थापन भएसँगै राजाले आफैले सम्हालेको शासन सत्ता जनताको नाममा भन्दै संसद्लाई पुर्नस्थापित गरे । अर्थात कु फिर्ता गरे । राजाले संसद् पुर्नस्थापना गरेपश्चात द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवैको सहमतिमा शान्ति सम्झौता मार्फत रणभूमि बनिरहेको देश शान्त हुन थाल्यो ।
देशमा लोकतन्त्र स्थापना भयो । राजासँग भएका कतिपय अधिकार पुर्नस्थापित संसद्ले कटौती ग¥यो । त्यही बलमा देशमा संविधानसभा मार्फत निर्वाचन गरी राजतन्त्रको अन्त्य समेत गरे । जनताले जनताका लागि बनाइएको नेपालको नयाँ संविधान २०७२ जारी भयो । संविधान जारी भएपश्चात् पनि केही दलले विरोध गरे । संविधान जलाए अनि त्यही संविधान जलाउनेहरु अहिले सत्तामा रमाइरहे । कुरो रह्यो– संविधान जारी भएपश्चात् जनताले धेरै अधिकार त पाए । तर, महसुस गर्न पाएनन् । देशमा गणतन्त्र आयो केही व्यक्तिका लागि मात्र आयो । संविधानको भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत दफा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ भने दफा १७ मा स्वतन्त्रताको हक उल्लेख गरिएको छ । जहाँ कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भन्ने उल्लेख मात्र गरिएन । विचार र अभिव्यक्तिको स्वातन्त्रा, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुने पनि भागका आवतजावत र बसोबास गर्ने स्वतन्त्रता लगायतका अधिकारलाई सुनिश्चित गरेको छ ।
तर, अहिले हामी फेरि २००७ सालभन्दा अघितिरै फर्किएका त छैनौं ? भन्ने प्रश्न चिह्न उब्जिएको छ । बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भईरहेको छ । शान्तिपूर्वक भेला हुने आफ्नो, विचार र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गराउने प्रयास भईरहेको देखिन्छ ।
लाग्छ गणतन्त्र त्यही दुई–चार दलहरुलाई मात्र आएको हो । उनीहरुले मात्र ल्याइदिएका हुन् । सत्तामा बस्ने वा शक्तिशाली पार्टीहरुले जे गरे पनि हुन्छ भन्नेजस्तै भएको छ । बोल्न पाउने अधिकारलाई कुण्ठित गरिँदै छ भन्ने प्रमाणका रुपमा प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भन्दै तीन जना युवाहरु सोलुखुम्वुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्वल खड्कालाई जेल चलान गरिनुले बोल्न पाउने अधिकारलाई तानाशाह पवृत्ति लाद्ने प्रयास गरिएको भान मट्याङ्ग्रालाई परेको छ ।
राजतन्त्रमा बोल्न पाएनौं भन्दै आन्दोलन गरेकाहरु अहिले गणतन्त्रमा बोल्न पाउँदिनस् भन्दै मुख थुन्न पाइँदैन । ‘बाघको छालामा स्यालको रजाइँ’ जस्तै भएको छ मुलुकमा । सत्ताको वरिपरि हुनेले जे पनि गर्न पाउने अनि सत्ता र दलभन्दा बाहिरकाले केही पनि गर्न नपाउने भन्ने छ ? स्वतन्त्र नागरिक दलभन्दा बाहिरका वा नागरिकले आफ्नो विचार अभिव्यक्त गर्न पाउँदै भने यो गणतन्त्र हुनै सक्दैन । नकारात्मक कार्यको विरुद्ध र जनताका पक्षमा बोल्न नपाउने त ‘गाँढतन्त्र’ हुन्छ ।
हिजो सक्रिय राजतन्त्र छँदा पनि राजतन्त्रको विरुद्ध नारा लगाएर आन्दोलन गरिएकै हो नि होइन र ? यदि हो भने अहिले यो गणतन्त्रका नाममा मौलाएको गाँढतन्त्रलाई अन्त्य गरेर वास्तविकरुपमा जनताले चाहेको, अधिकार सम्पन्न गणतन्त्रको अनुभूति गर्न पाउनुपर्दछ । बोल्ने मुखलाई छोपेर हो तँ बोल्न पाउँदिनस् । मेरो विरोध गर्न पाउँदिनस् । मेरो सत्ताको विरोध गर्न पाउँदिनस्, मेरो दलले गरेको कामको विरोध गर्न पाउँदिनस् भन्ने हो भने त्यो तानाशाह हुन्छ । लोकतन्त्रमा तानाशाह प्रवृत्ति स्वीकार्य हुने छैन ।
तँ बोल्न पाउँदिनस् भन्ने हो भने पटक–पटक बोली फुटिरहनेछ । फरक–फरक शैलीमा आउनेछ, बोल्नेछ । राष्ट्र, जनता र स्वाभिमानका पक्षमा बोली रोकिने छैन, बोलि नै रहनेछ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ११:३१