पछिल्लो समय आमनेपाली जनताको समस्या विकराल बन्दै गइरहेको छ । १० दलीय गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भएभरका मन्त्रालय आफ्नो काँधमा बोकेर बसिरहेका छन् । चैत १० गतेभित्र सरकार पूर्ण बनाउँछु भन्दै अझै सत्ताको लुँछाचुँडीमा छन् प्रधानमन्त्रीसहित बाँकी दलहरु !
जनताले चाहेको आधारभूत आवश्यकता पनि सरकारले पूरा गर्न सकिरहेको छैन । गाउँ–गाउँका जनताले न्याय खोज्नका लागि पैदलै बालबालिका काँधमा बोकेर धर्ना गर्न आउनुपरेको छ ।‘न्याय नपाए गोरखा जानू’ भन्ने पुरानो उक्ति अहिले फेरिएको छ । संघीय लोकतान्त्रिक मुलुकको सातवटा प्रदेश सरकारले न्याय दिन सकिरहेका छैनन् । जसका कारण प्रदेश नै खारेज गरौं भन्ने अभियान सुरु भइसकेको छ । स्थानीय सरकार बिचौलियाको कब्जामा छ ।
त्यसैले न्याय खोज्न डाँडामाथिको घाम भइसकेका नागरिकसमेत माइतीघर मण्डलमा धर्नामा बस्नुपरेको छ ।जनताको काम गर्नुको सट्टा सत्ता साझेदारदहरु मन्त्रीको भागबण्डामा नै दिनरात व्यस्त देखिएका छन् । लाग्छ प्रधानमन्त्रीको काम भनेकै सरकार साझेदार दलका लागि मन्त्रालय उत्पादन गर्ने हो । अहिलेको अवस्थालाई हेर्ने हो र संविधानले नबाँधेको भए उसबेला देउवा सरकारले जस्तै वर्तमान प्रधानमन्त्री दाहालले ५० भन्दा बढी मन्त्री बनाउने थिए होलान् । ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमी’ तिर भनेजस्तै भएको छ वर्तमान गठबन्धन सरकार ।
प्रधानमन्त्रीका रुपमा नेतृत्व लिएको करिब तीन महिना बितिसक्दा पनि दाहालले घोषणा गरेअनुसार काम गर्न सकेका छैनन् । जनताको आवश्यकतामाथि ध्यान दिन सकेका छैनन् । बरु आफ्नो सत्ता टिकाउनका लागि दुई–दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।
आफ्नो सत्ता टिकाउनका लागि जस्तोसुकै सम्बन्ध जोड्न र तोड्न पनि सिपालु छन् प्रधानमन्त्री दाहाल । कांग्रेससँग मिलेर चुनाव लडे, एमालेसँग मिलेर सरकार बनाए । भागबण्डामा असहज भएपछि फेरि कांग्रेससँग काँध मिलाएर अघि बढिरहेको वर्तमान सरकारले गरेको काम खै ?
मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको छ । युवाहरु बेरोजगारीका कारण त्राहीत्राही भएका छन् । विमानस्थलमा हेर्ने हो भने चौबिसै घण्टा विदेश जानेहरुको उत्तिकै भीड देखिन्छ । त्यसो भए वर्तमान सरकारले के ग¥यो । कहाँ अलमलिरहेको छ सरकार ?
जनताले सरकार छ भन्ने महसुससमेत गर्न छाडिसकेका छन् । सरकार हराएको छ । कहाँ र किन सरकार हराएको छ वा जनतासँग डराएको छ भन्ने कुराको निष्कर्ष निकाल्नु जरुरी छ । यी कुराहरुलाई ध्यान दिँदै तत्काल मन्त्रीमण्डललाई पूर्णता दिई सरकारको कामलाई प्रभावकारी बनाउन जरुरी छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ११:२९