काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले जित हात पारेका छन् । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई १–० गोलले पराजित गरेको छ भने च्यासल युथ क्लबले साविक विजेता मनाङ मस्र्याङ्दी क्लबललाई २–० ले पराजित गरेकोे छ ।
च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक–एक गोल गरेका थिए । खेलको २४ औँ मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । उनले फ्रिकिकबाट गोल गरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २–० को सहज जित दिलाए । खेलमा च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दि म्याच चुनिए । यस्तै खेलको ९० औं मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले रातो कार्ड पाएका थिए । खेलमा अपशब्द बोलेपछि रेफ्रीले उनलाई कार्ड देखाएका थिए ।
च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । यस्तै मनाङको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ । च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ ।
त्यस्तै सोमबार नै सम्पन्न पहिलो खेलमा जावलाखेललाई जित दिलाउनका लागि सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औँ मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । बल पोजिसनमा पकड जमाएपनि ब्रिगेडले गोल गर्न नसक्दा हारको सामना गर्नु परेको हो ।
खेलमा जावलाखेलका दिलन लोक्ताम म्यान अफ दि म्याच चुनिए । लिगमा जावलाखेलको यो चौथो जित हो । जितसँगै जावलाखेल लिगको सातौँ स्थानमा उक्लिएको छ । जावलाखेलले १० खेलमा १५ अंक जोडेको छ । ब्रिगेडले १० खेलमा ८ अंक जोडेको छ । ११ औँ स्थानमा रहेको ब्रिगेडको यो छैटौँ हार हो ।