काठमाडाैं – न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाडाैं आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु धेरैजसो चिसोका कारण बिरामी र थकित परेकाले आज विश्राम लिने भएका हुन् ।
धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाडाैंको चिसोले पनि छोएको छ ।गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् ।
आइतबार मातातीर्थमा बसेका उनीहरु सोमबार खुलाजञ्चमा बस्ने तयारी गरेका थिए । तर काठमाडाैं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए । मिटरब्याजपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् ।
यस्तै, सरकारले मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याज पीडितले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडाैं आएर विरोध प्रदर्शन थालेपछि सरकारले समस्याको दीर्घकालीन समाधानका लागि अग्रसरता थालेको हो । पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १०:०८