सरकार कमजोर हुँदा सबैभन्दा पीडित सर्वसाधारण बन्ने गरेका छन् । टाठाबाढाहरु त राज्य कमजोर हुँदा नै बढी फाइदा लिन्छन् । राजनीतिक दल तथा सत्ताको पहुँचमा उनीहरुले शोषण गर्ने सर्वसाधारणमाथि नै हुन् । यस्तै फाइदा लिनेहरुमा पर्छन् मिटरब्याजीहरु ।
सर्वसाधारणलाई ऋण दिएर मिटरब्याज असुल्ने उनीहरुले ऋणीको घरबारदेखि सारा सम्पत्ति कब्जा जमाउने गरेका छन् । सर्वसाधारणलाई घरबारविहीन बनाउने मिटरब्याजीहरुको विगविगी नियन्त्रणमा सरकार असफल बनिरहेको छ । यसरी पीडित बनेकाहरु अहिले न्याय माग्दै राजधानी काठमाडौंमा आन्दोलनरत छन् ।
मधेसबाट हिँडेरै काठमाडौं आइपुगेका हुन् पीडितहरु । उनीहरु यसरी कष्टपूर्वक राजधानी आउनुको एउटै उद्देश्य आफ्नो पीडा राज्यका शासकहरुलाई सुनाउनु हो । राजधानीमा बसेर जनतालाई सधैं आश्वासन बाँडिरहने शासकहरुले उनीहरुको पीडा कति सुन्लान् हेर्न बाँकी नै छ । तर, मिटरब्याजपीडितको आँशु यतिखेर राजधानीको माइतीघर मण्डल र सडकका किनारहरुमा बगिरहेको छ ।
न्याय माग्न राजधानी आएका उनीहरुको बास सडकमै छ । सडकबाटै उनीहरुले आफ्नो पीडा पोखिरहेका छन् ।राज्य भनेको प्रत्येक नागरिकको अभिभावक हो । तर, नेपाल सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकिरहेको छैन । सडकमा निरन्तर आँशु बगाइरहेका पीडितहरु पक्षमा आजसम्म उल्लेखनीय निर्णय गरेको छैन ।
यद्यपि, मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध करार गरी कारबाही गर्नेगरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । यसलाई सकारात्मक लिनुपर्छ । तर, कानुनको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । किनभने, धेरै कानुन भएर पनि कार्यान्वयन फितलो बन्दा निस्प्रभावी बनिरहेका छन् ।
मिटरब्याजपीडितको पीडा साँच्चै नै दर्दनाक छ । यस्तो पीडामा पार्नेहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुको विकल्प छैन । सरकारले यसमा अग्रसरता लिनैपर्छ । पीडितको आवाज नसुन्ने हो भन्ने राज्य हुनुको के अर्थ ? हुन त राजनीति गर्नेहरुका लागि यस्तो अवस्था अवसर हुने गर्दछ । यस्तै पीडितहरुलाई भर्याङ बनाएर आफू माथि जाने प्रवृत्ति नेताहरुमा रहँदै आएको छ ।
मंगलबार पनि विभिन्न दलका नेताहरु मिटरब्याजपीडितको धर्नामा पुगे । सांसददेखि पूर्वप्रधानमन्त्रीसम्म धर्नामा उपस्थित भएर ऐक्यबद्धता जनाउनु राम्रो कुरा हो । तर, आफू सत्तामा हुँदा केही नगर्ने र बाहिर हुँदा सरकारलाई दबाब दिएजस्तो गर्ने खराब प्रवृत्ति छ । पीडितको आँशुमा राजनीति गर्नेहरुलाई अब भने महँगो पर्न सक्छ । त्यसैले आँशुमा राजनीतिक स्वार्थ राख्नु कदापि राम्रो हुने छैन । न्याय माग्न आएका मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकार र सरोकारवाला सबै जिम्मेवार बनून् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १२:३३