– पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने, लोसपा नेता डा. सुरेन्द्र झासहितले प्रदर्शनस्थल पुगेर ऐक्यबद्धता जनाए
– प्रदर्शनस्थल पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नारावाजी
काठमाडौं– मधेसबाट हिँडेको १२औं दिनमा प्रधानमन्त्री र राष्ट्रपतिसहितका शासकहरू बसेको काठमाडौंमा उनले पाइला टेकिन् । नाम भन्न नचाहेकी मिटरब्याजीपीडित ती महिलाको बास भने शासकहरू बसेको काठमाडौं सहरको सडकपेटीमा भयो ।
कष्टकर ढंगले जसोतसो बर्खाको रात काटेकी उनी मंगलबार मध्याह्न नयाँ बानेश्वर चोक छेउमा प्रदर्शनमा भेटिइन् । उनलाई पत्रकारहरूले सोधिहाले, ‘तपाईंको पीडा के हो ?’
जवाफ दिनुभन्दा अगाडि नै उनी डाँको छाडेर क्वाँ क्वाँ... रोइन् । बलिन्द्र आँसु झ¥यो । सायद उनले दुःख लुकाउन सकिनन् ।
र, भनिन्– साहुकामा नौ लाख ऋण लिएको तर तिरिसक्दा पनि तिरेकै छैन भन्दै साहुले थप १० लाख लिइसके । अझै तमसुक च्यातिएको छैन । बरू, साहुको तनाव र धम्की थेगिनसक्नु छ ।
पीडित महिला आँसुसहित पीडा पोखिरहँदा नजिकै सर्वहारा वर्गकै निम्ति ६० वर्ष राजनीति गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल देखिए । उनले केही मिटरब्याजीपीडितको दुःख सुने । केही आश्वासन बाँड्न भ्याइहाले ।
‘म तपाईंहरूको यो समस्या समाधानका लागि पहल गर्छु । तपाईंहरूलाई आन्दोलन फिर्ता लिनुहोस् चाहिँ भन्दिनँ । म तपाईंहरूसँगै छु,’ खनालले भने ।
प्रधानमन्त्री हुँदा मिटरब्याजीविरुद्ध कानुन बनाएर कार्यान्वयन नगराएका र सर्वहारा वर्गको उत्थानका लागि केही नगरेका खनाल खासमा आन्दोलनमा स्वामित्व ग्रहण गर्न गएका हुन् । अर्थात्, गरिबको पीडामा पूर्वप्रधानमन्त्री खनालले राजनीति गरे । उनै खनाललाई प्रभावकर्मीले सोधे, ‘सर्वहारा वर्गको नेता तपाईं देशको पूर्वप्रधानमन्त्री भइसक्नुभयो तर सर्वहारा वर्गका मानिसहरू त सडकमा आँसु झार्दै छन् नि ?’
उनले पुँजीवादको अवशेषका रूपमा लघुवित्तसँगै साहु महाजनहरू अझै रहँदा सर्वहारा वर्गको आर्थिक उत्थान हुन नसकेको बताए । अब, प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएलगत्तै पहिलो काम नै मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नु रहेको बताए ।
यति हुँदाहुँदै पनि मिटरब्याजी पीडितहरूको दुःखमा राजनीतिक रङ खनालले भरिदिए । उसो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पनि प्रदर्शनस्थलमा पुगे । दिन दुःखी जनताको असाधारण विश्वास र अपेक्षा उनीमाथि छ । प्रदर्शनस्थल पुगेर उनले समर्थन र विरोधभन्दा पनि समस्या समाधान गर्न आएको पीडितहरूसँग भने । तर, उनी सरकारमा छैनन् । नभएपछि उनले गर्ने भनेकै समस्या समाधानमा पहल हो । यद्यपि, समाधान गर्ने पुगेको भन्न भ्याए ।
उनीभन्दा पछि मधेसको मुद्दा उठाएर संसद्मा आएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झा पनि प्रदर्शनस्थल पुगे । उनको पनि भनाइ समस्या समाधान गराउन पहल गर्ने भन्ने नै थियो । तर, सरकारमा पटक–पटक गए पनि मधेसका नेताहरूको ध्यान मिटरब्याजी समस्या समाधानमा केन्द्रित कहिल्यै भएन ।
प्रदर्शनस्थलमा पुग्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि थिए । तर, उनीविरुद्ध भने मिटरब्याजी पीडितहरूले उल्टै ‘सामन्तवादी मुर्दावाद, राजावादी मुर्दावाद’ भन्दै प्रदर्शन गरे । यसपछि उनी दुःखित् हुँदै फर्किए । फर्किंदै गर्दा उनले आफू जनप्रतिनिधि भएकाले जनताको पीरमर्का बुझ्न आएको भनेका थिए । उनलाई भने सामान्तवादको ‘प्रतीक’को रूपमा चित्रण गर्दै मिटरब्याजी पीडितहरूले अस्वीकार गरे ।
दलका नेताहरू आँसु झार्दै बसेका पीडितहरूको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धताको नाममा राजनीति घुसाउन खोजेको भन्दै आलोचित भएका छन् । हुन पनि दलहरूका नेताहरूले संसद्मा होस् वा सडकमा, मिटरब्याजी समस्या समाधानका लागि कहिल्यै बोलेनन् ।
अवैधानिकरूपमा मिटरब्याजी धन्दा चलाएकाहरूमाथि कानुनी दण्डा चलाएर गरिब वर्गलाई उन्मुक्ति दिन चाहेनन् । तर, जतिबेला १२ दिन हिँडेर खुट्टा चरचरी फुटाएर मिटरब्याजीपीडितहरू काठमाडौं आइपुग्दा भने हत्त न पत्त ऐक्यबद्धता जनाउन पुगेका हुन् ।
यसरी प्रदर्शनलाई विभिन्न दलका नेताहरूले राजनीतिक रङ लगाए पनि सप्तरीको बोदेबसाइन नगरपालिका–७ का ताइवाब अलीले प्रदर्शनस्थलमा दिएका आश्वासनहरू नेताहरूले पूरा गर्नेमा विश्वास गरिएको बताए । उनले न्याय नपाई घर नफर्किने दृढ गरे ।
‘मरे काठमाडौंमै मरौंला । तर, न्याय नपाई फर्किन्नौं,’ उनले भने, ‘हामीसँग नेताहरू जे भन्नुभएको छ, पूरा होस् ।’ आफूले ७० लाख ऋण मिटरब्याजीबाट लिएको तर एक करोड सात लाख तिरिसक्दा पनि अझै तमसुक नच्यातिँदा उनी तनावमा छन् ।
उनको जस्तै पीडा सप्तरीकै खडक नगरपालिकाका बच्चुलाल साहसँगै अन्य थुप्रैको छ । उनीहरू प्रधानमन्त्री दाहाललाई पीडा सुनाउन भनेर काठमाडौं आएका हुन् । प्रधानमन्त्रीलाई भने उनीहरूले भेट्ने मौका पाएका छैनन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १३:२७