वैदेशिक रोजगार बोर्डको सचिवालयले बुधबारदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारहरुको स्वास्थ्य समस्याका विषयमा जानकारी लिने र आवश्यक उपचारका लागि परामर्श दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको हो । बोर्डको यो कदम स्वागतयोग्य छ ।
टेलिमेडिसिन सेवा सुरु भएसँगै अब विदेशमा रहेका नेपाली कामदारहरुले सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक दिन नेपाली समयअनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म मेडिकल अफिसरसमक्ष आफ्नो समस्या राख्न सक्ने भएका छन् । यसबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लाभ लिनसक्ने देखिन्छ । विभिन्न समस्यामा परेका कतिपय नेपालीहरु कहाँ, कसरी र कसको परामर्श÷सहयोग लिने भन्नेमा अन्योल परेका घटनाहरु आइरहेका हुन्छन् । यस्तो समस्यामा परेकाहरुलाई टेलिमेडिसिन सेवा प्रभावकारी बन्नसक्ने अपेक्षा गर्न सकिन्छ ।
बोर्डका अनुसार विदेशबाट बिरामी कामदारले राखेका स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासालाई कल सम्पर्कमा रहने मेडिकल अधिकृतले नै समाधानको पहल गर्ने छन् । उनीहरुलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रबार धेरैजसो गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराउँदा कामदार बढी लाभान्वित हुने बोर्डको अपेक्षा छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई भाषा र अन्य विविध समस्याको कारण बिरामी पर्दा सामान्य स्वास्थ्य परामर्श लिन पनि समस्या भएको अवस्थालाई मध्यनजर गर्दै फोनमार्फत स्वदेशबाटै चिकित्सकीय सेवा लिनसक्ने व्यवस्था मिलाइनु राम्रो कुरा हो । यो अब सुरुआत मात्रै होइन, यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न बोर्डले ध्यान दिन जरुरी छ ।
सुरुमा त वैदेशिक रोजगारीमा रहेकाहरुलाई यो सेवाबारे जानकारी प्रदान गर्नुपर्छ । उनीहरुले जानकारी पाए मात्र यो सेवा लिने छन् । त्यसैले यसबारे सूचना र जानकारी प्रभावकारी रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसम्म पु¥याउनुपर्छ । यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके श्रमिकहरुको आकर्षण बढ्ने निश्चित छ । त्यसैले प्रभावकारी ढंगले यसको सञ्चालनमा बोर्डले ध्यान दिन जरुरी छ । यसलाई प्रभावकारी बनाउन नसकिए सुरुआत गर्नुको कुनै अर्थ रहँदैन । आशा छ, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि यो टेलिमेडिसिन सेवा उपयोगी सावित हुनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १०:३९