काठमाडौं – अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।
पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई/भाउजु/साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’ उनले भनेका छन् ।
कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन् ।
राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १६:५४