साँच्चै वर्तमान सरकारले सीमाका बारेमा आधिकारिक रूपमा बोल्न सकेको छैन । आफ्नो देशको सीमाको रक्षा गर्न नसक्ने सरकारले खोक्रो राष्ट्रवादको कुरा ल्याएर जनताको दिमाग भुट्ने काम गरिरहेको छ । सरकारले आफ्नो देश र जनताको सुरक्षा दिनु नसक्ने हो भने उसले सरकार कहलाउन सुहाउँदैन । आफ्नो देशको सीमा अतिक्रमण हुँदा बोल्न नसक्ने सरकारसँग राष्ट्रवादको गफ हाँक्न मिल्ने कुरा भएन । तर, उसले लाजमर्दो किसिमले राष्ट्रवादको कुरा गरेर जनतामा एक किसिमको गलत सन्देश पुर्याउन लागेको देखिन्छ । सरकारको यहि कुरामाथि जनताले खिसिटिउरी गर्लान् भनेर सामाजिक सञ्जालमा सरकारको व्यंग्य गर्ने काममाथि बन्देज लगाउने काम भइरहेको छ । सरकारले यहि काम नगरेको भनेर भनिरहँदा सरकारलाई लाज लाग्ने भएकाले सरकारले यस्ता समाचारमाथि बन्देज लगाउन मिडिया काउन्सिल ल्याउने तयारी गरेको हो ।
सत्तारुढ दलको बैठकले भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकालेको छ । तर, उसले यसप्रति के गर्ने भनेर केही बोल्न सकेको छैन । भारतले नेपाली सीमा मिचेको मिच्यै छ । तर, नेपाल सरकार भने केवल रमिते बनेर बसेको छ । उसले यसलाई प्रतिकार गर्ने मात्र होइन, यो समस्याको समाधानका लागि भारतसँग वार्तामा बस्न बोलाउन सकेको छैन । कस्तो गज्जबको सरकार, आफू पनि सार्वभौम सम्पन्न मुलुकको सरकार भएको कुरा बिर्सने सरकारले जनतामाथि जाइलाग्ने कामभन्दा अरु काम गरेको छैन । अरु देशसँग आफ्नो मुलुकको समस्या राख्न नसक्ने तर आफ्नै घरमा भने निक्कै घमण्डका साथ प्रस्तुत हुने काम सरकारले गरेको छ । नेपाली जनतालाई दुःख दिने तर अन्य मुलुकका जनताका बारेमा भने सरकार चिन्तित हुनुलाई विडम्बना नै भन्नुपर्छ । घरको बाघ भएर होइन, बाहिर पनि बाघ हुने हैसियत राख्नुपर्छ, अन्यथा सरकारको अस्तित्व रहनेछैन ।
भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकाल्दै सत्तारुढ दलको बैठकले यसलाई समाधान गर्न कूटनीतिरूपमा समाधान गर्नु पर्ने निर्णय गरेको छ । यो निर्णय यत्तिकै सुकेर जाने देखिन्छ । भारतका अगाडि बोल्नै नसक्ने सरकारले आफ्नो सीमा मिचिएको कुरा औपचारिक रूपमा राख्न नसक्नु सबैभन्दा दुर्भाग्य हो । भाषण गरेर मात्र हुँदैन, जनताको मन जित्न नसक्ने सरकारलाई सरकार भन्नै नसुहाउने भएको छ । विदेशीको इशारामा मुलुकमा निर्णय गर्ने सरकारले आफ्नो सीमा मिचियो भन्न नसक्ने हो भने सरकार कुर्सीमा बस्ने कि नबस्ने ? स्पष्ट बहुमतको सरकारले पनि देशको रक्षा गर्न सक्दैन, हिजो भारतविरुद्ध सुरुङ युद्धको उद्घोष गर्ने पार्टी सरकारमा हुँदा पनि उसले नेपालको सीमा रक्षा गर्न सकेको छैन । सीमाको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा गर्न सक्ला भनेर विश्वास गर्न नसकिने भएको छ । तर, उसैले राष्ट्रवादको भाषण दिएर जनतालाई मख्ख पार्ने काम भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ ०९:४६