काठमाडौं– नेकपा एमाले तनहुँ १ र चितवन २ मा हुने उपचुनावका लागि उम्मेदवार तय गरेको छ । शनिबार बसेको पार्टी सचिवलायको बैठकले १० वैशाखमा हुने उपचुनावका उम्मेदवार तय गरेको हो । बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बारा २ मा हुने उपचुनावका लागि भने एमालेले आज उम्मेदवार तय गरेन । यसबारे पछि निर्णय हुने गुरुङले बताए ।
तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनाल ४ मंसिरको चुनावमा काठमाडौं ६ बाट चुनाव लडी पराजित भएका थिए । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रहेका खनाल दोस्रोपटक चुनाव लड्न लागेका हुन् ।
यस्तै चितवन २ का लागि उम्मेदवार तय भएका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । उनी ४ मंसिरको चुनावमा पनि जिल्लाबाट एकल सिफारिस भएका थिए । तर, एमालेले त्यहाँ कांग्रेसका बागी दिनेश कोइरालालाई सहयोग गरेको थियो । चुनाव भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेका थिए । नागरिकता प्रकरणमा उनको पद गएपछि उपचुनाव हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १६:१६