काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।
पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो”, उनले बताए ।
अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना भएको र उनले हाल चिकित्सकहरूको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १२:०७