काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से बजार २० अंकले घटेर १८८८.५५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ ।
आइतबार कारोबारमा आएका २६० कम्पनीका ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ बराबरमा किनबेच भएको छ । गत बिहीबारको तुलनामा शेयर कारोबार रकम भने बढेको छ ।
नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत घटेको छ । आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १५:५४