मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आएका छन् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत । अहिले समग्र अर्थतन्त्रमा मन्दी छाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि कायम तरलताको समस्या यथावत् छ । व्यापार व्यवसायमा शून्यता छाउँदै गएको अवस्था छ । यही बेला महँगी (मुद्रा स्फिति) उच्च बिन्दुमा पुग्दै अनियन्त्रित बनेको छ ।
अर्थतन्त्रका सूचकहरु केही सकारात्मक बन्दै आएको देखिए पनि समग्रमा नकारात्मक नै छ । रेमिट्यान्सको रकम बढेका कारण विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो । तर, सरकारले विदेशी मुद्रा सञ्चिति नियन्त्रणका लागि विभिन्न वस्तुमा लगाइएको आयात प्रतिबन्ध कायमै छ । जसले गर्दा वैदेशिक व्यापार (आयात/निर्यात) नै घटेको अवस्था छ ।
सबैभन्दा गम्भीर पक्ष सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा असफल हुँदै गएको छ । आर्थिक वर्ष सकिन अब लगभग साढे तीन महिनामात्र बाँकी रहँदा राजस्व लक्ष्यअनुसार संकलन हुन सकेका छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबारसम्म सरकारले बजेटमा लक्ष्य राखेको राजस्वमा ४३.८२ प्रतिशतमात्र प्रगति भएको छ ।
अबको तीन महिनामा बाँकी रकम उठाउनुपर्छ, जुन असम्भव प्रायः छ । लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा सरकारलाई खर्चमा चर्को दबाब परिरहेको छ । यतिबेला कर्मचारीहरुलाई तलब खुवाउनसमेत हम्मे परेको अवस्था छ ।यस्तै विकास खर्च अर्थात् पुँजीगत खर्च अत्यन्त कमजोर अवस्थामा छ । महालेखानियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म ३५ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ ।
यसले विकास निर्माणको प्रगति निराशाजनक रहेको प्रस्ट हुन्छ । यद्यपि, सम्पन्न भएका कामको भुक्तानी नहुँदा खर्च कम देखिएको अर्थ मन्त्रालयका अधिकारीहरु दाबी गर्छन् ।अर्थतन्त्रको यो अवस्थालाई सुधार गर्नु नवनियुक्त अर्थमन्त्री महतका लागि ठूलो चुनौती हुने निश्चित छ । यो चुनौतीलाई उनले कसरी सामना गर्लान् त्यो हेर्न बाँकी नै छ । पक्कै पनि यो अवस्थालाई सम्हाल्नसक्छु भन्ने आत्मविश्वासका साथ नै उनी अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आएको हुनुपर्छ । यही बेला आगामी आर्थिक वर्षको बजेट निर्माणको थालनी गर्ने समय पनि सुरु भइसकेको छ ।
वर्तमान चुनौतीलाई सम्बोधन गर्दै आगामी वर्षको बजेट तय गर्नुपर्ने उनको जिम्मेवारी छ । गठबन्धनको सरकार भएकोले सबै साझेदार दलहरुको योजनालाई पनि समेट्नुपर्ने बाध्यता छ । यस्तोमा आगामी बजेट निर्माण हरेक कोणबाट चुनौतीपूर्ण रहेको प्रस्ट देखिन्छ । यो अवस्थालाई सम्हाल्न अर्थमन्त्री महतले निकै कसरत गर्नुपर्नेछ । चुनौतीको चाङलाई पन्छाउन सफल हुने÷नहुने उनको आगामी कर्मले नै निर्धारण गर्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १२:०४