काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक–एक गोल गरे । पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ७८ औं मिनेटमा सन्जोगको गोलबाट फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए ।
खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए ।
फ्रेन्ड्सको लिगमा यो चौथो जित हो । जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ । एनआरटीको यो तेस्रो हार हो । सातौं स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ ।
यसैबीच एन्फाले सार्वजनिक गरेको अन्तिम चरणको तालिका अनुसार त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच लिगको अन्तिम खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको अन्तिम तीन चरणको खेल तालिका अनुसार आर्मी र मछिन्द्र भिड्ने भएका हुन् ।
लिगको अन्तिम खेलमा दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । लिगमा अहिले आर्मी र मच्छिन्द्र शीर्ष दुई स्थानमा रहेका छन् । आर्मी २३ अंकसहित शीर्ष स्थानमा रहदा २२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । यस्तै एन्फाले लिगको एन्फाले ११ औं, १२ औं र १३ औं चरणको खेलहरू एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने जनाएको छ । अब लिगको अन्तिम खेल मात्र रंगशालामा हुनेछ ।