काठमाडौं-भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको जनाएको हाे ।
नेपालमा त्यस्ता लगानीले कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको साे राष्ट्र बैंकले जनाएको हाे ।‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टो करेन्सी (स्टेकबल क्वाइन), नन् फङ्जिबल टोकन, डिससेन्ट्रलाईज फाइनान्सले कानुनी मान्यता पाएको छैन,’ राष्ट्र बैंकले भनेको छ ।
यति मात्रै नभएर उक्त कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने जोखिम रहेको केन्द्रीय बैंकको सूचनमा उल्लेख छ ।
नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक समेत र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका व्यवसायहरुले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका कारोबार गर्न नसक्ने बैंकले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १३:३६