काठमाडाैं - नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको टिप्पणी गरेकाे छन् ।
मङ्गलवार काठमाडाैंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले साे बताएका हुन् ।
नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबन्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमैमात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताए । पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने बताए ।
बाटो बनाउने मन्त्रालयभन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको उनकाे भनाइ थियाे । उनले भने, ‘तँछाडमछाड गरेर मन्त्रालय लिनका लागि भागबन्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ । त्यो भागबन्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नका लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्नसके बाटो बनाउने मन्त्रालयभन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ । पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिने गरी काम गर्नुपर्छ । आज कुनै पनि विद्यार्थी शिक्षक सेवा आयोगमा गएर शिक्षक बन्छु भनेर परीक्षा दिँदैन । त्यो विद्यार्थीलाई दोष दिने कुरा होइन, हामीले बनाउन सकेका छैनौँ, त्यो परिस्थिति हामीले बनाउनुपर्छ ।’
सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्न सकेमा सार्वजनिक विद्यालय आफैँ आकर्षणको केन्द्र बन्ने दाबी गरे । उनले सङ्घीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १७:०३