राजनीति व्यापार बन्दै गइरहेको आरोप लागिरहेका बेला प्रतिनिधिसभामा हारेका नेताहरु फेरि उपनिर्वाचनमा पनि उम्मेदवार बनिरहेका छन् । त्यसमा पनि प्रहरीबाट अवकास पाएका व्यक्ति राजनीतिमा होमिएका छन् ।
नेपाली राजनीतिको इतिहासमा सिद्धान्त र विचारको लडाइँ हुने गर्दथ्यो र जित पनि पनि त्यही विचारमै हुन्थ्यो । तर, अहिले राजनीति साँच्चै नै व्यापार बन्दै गएका कारण राजनीतिमा पूर्वप्रशासक, प्रहरी, व्यापारीहरुको हालीमुहाली नै भएको देखिन्छ । चाहे त्यो प्रत्यक्ष निर्वाचनमा होस् वा समानुपातिकबाट निर्वाचित गराउने नै किन नहोस् ।
राजनीति जनताका लागि गर्ने सेवा थियो कुनै बेला । जनताको हकअधिकार सुनिश्चत गर्न संघर्ष गर्थे नेताहरुले । तर, अहिले समय परिवर्तन भएको छ । विचार सिद्धान्त हराएको छ । जसरी हुन्छ सत्तामा पुग्नैपर्ने भन्ने सोच नेताहरुमा पलाएको छ ।आगामी वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।
उपनिर्वाचनमा शीर्षस्थ मानिएका राजनीतिक दलहरुले हारेका नेताहरुलाई फेरि निर्वाचनमा उम्मेदवार बनाएका छन् । त्यसमध्ये पनि दुईवटा क्षेत्रमा त ‘हरुवा’ प्रहरीले फेरि निर्वाचनमा आफूलाई होमेको देखियो ।
नेकपा एमालेले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट हारेका पूर्वप्रहरी सर्वेन्द्र खनाललाई तनहुँबाट उम्मेवार बनाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रहरी रमेश ख रेललाई बाराबाट पुन: उम्मेवारी दर्ता गराएका छन् । खरेल मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट पराजित भएका व्यक्ति हुन् ।
हुन त मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाका तर्फबाट पूर्वप्रहरी ध्रुवबहादुर प्रधान निर्वाचित भएर सांसद भई मन्त्रीसमेत बनिसकेका छन् । पछिल्लो अवस्थालाई हेर्ने हो भने सुरक्षा निकायमा जागिर बिताएर अवकाश प्राप्त पूर्वप्रहरीहरु राजनीतिक दलको रोजाइमा परेका छन् । प्रहरीहरु राजनीतिक दलको रोजाइमा पर्नु वा प्रहरी राजनीतिमा होमिनु सोख हो या बाध्यता ?
जीवनभर सरकारी तलब खाएर जनताको सेवा गर्न नसकेका, राष्ट्र र जनताका लागि कुनै योगदान नगरेका तर देशको सम्पत्तिमा आँखा लगाएर भ्रष्टमति बनाएका त्यस्ता व्यक्तिलाई राजनीतिमा संलग्न गराउने राजनीतिक दलहरुको स्वार्थ के होला ? गम्भीर प्रश्न उब्जिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १०:३४