काठमाडौं– नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान)ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भएपनि नेपाल सुरक्षित रहेको भन्दै हानले मंगलबार पत्रकार सम्मेलन गरी बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेको छ ।
पछिल्लो समय चीनको वुहानलगायत विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
हानका अध्यक्ष सिर्जना राणाले कोरोना भाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको बताइन् । उनले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि सचेत रहेकाले पर्यटन क्षेत्रमा केही असर परेपनि आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले कोरोना भाइरसले चीनको तत्कालीन बजारलाई केही असर परेको बताउँदै उनले केही समयपछि अन्त्य हुने विश्वास गरे ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६ ०९:२८