काठमाडौं– प्रतिनिधिसभाका निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई दिएका छन् ।
संघीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका हुन् । उक्त अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालय स्रोतले जनाएको छ ।
नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच ६ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पुर्याउँदै आएको विषयमा समेत उनीहरूले स्मरण गरेका थिए ।
साथै, सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डलबाट भएको नेपाल भ्रमणको प्रसंग निकाल्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको बताए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६ ०९:४४