कानुन सबैका लागि बराबर हुन्छ । पेसाका आधारमा कसैलाई छुट पाउने, कसैलाई अनिवार्य लागू हुने भन्ने हुँदैन । तर, मुलुकमा कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन हुने गरेका विषय निरन्तर उठ्दै आएको छ । यही सन्दर्भमा नेपाल प्रहरी जोडिन्छ । प्रहरी मुलुकको कानुन पालना गराउने जिम्मवारी बोकेको संस्था हो । तर, विभिन्न कारणले प्रहरीको आलोचना हुने गरेको छ । हुन जरुरी पनि छ ।
काठमाडौं उपत्यकाका चोक–चोकमा प्रहरीका बिटहरु देखिन्छन् । ती बिटहरु सार्वजनिक सडक मिचेर बनाइएका हुन् । सडकको भाग मिचेर बनाइएका त्यस्ता बिट तथा कतिपय प्रहरी चौकीका भवनहरु पछिल्लो समय हटाउन थालिए पनि केही स्थानमा अझै कायमै रहेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् । उनका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्युरोड पिपलबोट, चिकमंगलम, धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट रहेका छन् ।
दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनले जानकारी दिए । महानगर प्रमुख साहले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सबै तयार हुन अपिलसमेत गरेका छन् । महानगरप्रमुख शाहको यो निर्देशनात्मक कदम स्वागतयोग्य छ । उनको यो आँटलाई सबैले सम्मान र साथ दिनुपर्छ । कानुन कार्यान्वयन गराउने प्रहरीबाटै त्यसरी कानुनको उल्लंघन भइरहनु पक्कै पनि स्वीकार्य विषय होइन ।
फुटपाथमा पैदलयात्री हिँड्ने ठाउँसमेत नराखी बनाइएका प्रहरी संरचनाहरु हटाइनुपर्छ । सडक विस्तारका क्रममा सर्वसाधारणका घरहरु भत्काइए, काटिए तर केही प्रहरीका भवनहरु अझै नहटाइ राखिएको छ । यसको उदाहरण बौद्ध प्रहरीको भवन हो । यस्ता संरचनाहरु तत्काल हटाउनुको विकल्प छैन । तर, प्रहरीकै भएका कारण ती संरचना हटाइएको छैन । अब हटाइनुपर्छ । महानगर प्रमुख शाहले थालेको अभियानलाई सबैले साथ दिनुपर्छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १३:५०