एजेन्सी - श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएको छ । उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ । आफ्नो इस्टर आइतवार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताएको छ ।
श्रीलङ्काका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेको छ । “सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ ।
म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु”, राष्ट्रपतिले भने । आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रङ्गको भेदभाव नगरी सबै श्रीलङ्काली जनताहरूको आकाङ्क्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गरेको छ ।
“मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौँ”, राष्ट्रपतिले भने । श्रीलङ्काली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गरेका छन् ।
अप्रिल २१ मा क्रिस्चियन समुदायले इस्टर सन्डे मनाउने क्रममा श्रीलङ्काका कोलम्बो, नेगोम्बो, कोच्चिकेडे र बट्टिकालोआलगाययतका आहरमा आठवटा विस्फोटन भएका थिए ।
उक्त शृङ्खलाबद्ध विस्फोटमा ११ भारतीयसहित कम्तीमा दुई सय ५० जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दाबढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १७:१८