चरिकोट - दोलखाको शैलुङ गाउँपालिका-८ कालापानीदेखि शैलुङ डाँडासम्म निर्माणाधीन मिनीग्रेटवालको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ ।चीनमा अवस्थित ग्रेटवालको झल्को दिने गरी गत वर्षको मंसिर अन्तिम सातादेखि काम सुरु भएको मिनीग्रेटवालको भौतिक प्रगति ७० प्रतिशत भएको हो ।
भूस्वर्गको रुपमा रहेको शैलुङ डाँडामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वाल निर्माण भैरहेको जानकारी पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुन बहादुर तामाङले दिएका छन् ।
उहाँले सोको निर्माणपछि शैलुङको सौन्दर्यता थपिने र पर्यटनको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरेका छन् । उनका अनुसार वाल पाँच सय मिटर लम्बाइको हुनेछ ।
सोवर्ण निर्माण सेवाले चार करोड ९४ लाखमा सम्झौता गरि काम अगाडि बढाइएकाे छ । आगामी महिना सम्पूर्ण संरचनासहित मिनीग्रेट वाल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने उद्धेश्य कम्पनीको रहेकाे छ ।
मिनीग्रेटवाल निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन करोड ५० लाख उपलब्ध गराएको छ । बाँकी रकम गाउँपालिकाले व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताएका छन् ।
दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङ डाँडा प्रकृतिले दिएको अनुपम उपहार हो ।यसको प्रमुख विषेशता भनेको एक सय भन्दा बढी थुम्का हुनु हो ।
शैलुङ गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यसहित सन् २०२४ लाई शैलुङ भ्रमण वर्ष मनाउने जनाएको छ । भौतिक पूर्वाधारका आकर्षण थप गर्ने काम भैरहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १४:४२