काठमाडौं– बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । पत्रकार शर्माको उपचारकै क्रममा बुधबार बिहान मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पतालमा निधन भएको हो । मुटुसम्बन्धी रोगबाट ग्रसित ७२ वर्षीय शर्मालाई पछिल्लो समय रक्तचाप र पिसाबमा समेत समस्या देखिएपछि पाँच दिनअगाडि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकोमा मंगलबार उक्त अस्पतालमा ल्याइएको थियो ।
विसं २००४ जेठ १४ गते इलाममा जन्मिएका शर्माले गोरखापत्र दैनिकको संवाददाताको रूपमा पत्रकारिता शुरु गरेका थिए । शर्माले रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनमा स्थापनाकालदेखि नै आवद्ध रही महाप्रबन्धकको जिम्मेवारी वहन गर्दै नौ वर्षअगाडि टेलिभिजनबाट अवकास लिएका थिए ।
नेपाल पत्रकार महासंघले शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका शर्माको निधनले नेपाली पत्रकारिता जगतले एक जना कुशल, अनुभवी, निर्भिक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ । ‘महासंघ शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ’ , विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय साहित्य क्षेत्रमासमेत कलम चलाएका उनीद्वारा लिखित ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’लगायतका पुस्तक प्रकाशित भएका छन् ।