२०७९ साललाई मध्यरातबाट बिदाइ गरी २०८० लाई आम नेपालीजनले स्वागत गरिरहेका छौं । हरेक वर्ष यसैगरी वर्षौंटे पात्रो फेर्ने क्रम चल्दै आइरहेको छ । वर्ष २०७९ मा मुलुकलाई समृद्धिको मार्गमा बढाउने अभियानमा कतै अलमलियौं । विशेषतः विश्वमा देखापरेको आर्थिक मन्दीको प्रभावले नेपाललाई पनि नराम्ररी प्रभावित तुल्यायो ।
अझै पनि त्यसबाट माथि उठ्न चुनौतीपूर्ण अवस्थाको सामना गर्नु परिरहेको छ । अर्को पटो, चुनावी वर्ष बनेका कारण पनि वर्ष २०७९ मा विकासका काममा सुस्तता आएको देखिन्छ । उक्त वर्ष वडादेखि पालिका, प्रदेशदेखि संघीय संसद्सम्म जनप्रतिनिधि चुनिए । साथै, नयाँ उपराष्ट्रपति राष्ट्रपति चुनिए ।
नयाँ वर्षको सुरुआतसँगै ७० को दशकलाई बिदाइ गरेका छौं । उक्त दशकमा मुलुकमा अपेक्षित उपलब्धि हासिल गर्न हामी चुकेका छौं ।
हुन त यही दशकमा हामीले संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधान पायौं । मुलुकलाई साँच्चै नै संघीय संरचनामा परिवर्तन गर्न सक्यौं । केन्द्रमा निहित अधिकारलाई पालिकासम्म पु¥याउन सफल पनि भयौं ।राजनीतिक तथा सामाजिकरुपमा परिवर्तनका लागि धेरै काम भए यो दशक । व्यवस्था परिवर्तनपछिको संरचना पनि परिवर्तन गर्न सक्यो तर हामीले देश र जनताको अवस्था परिवर्तन गर्न यो दशकमा चुक्यौं ।
महाविनासकारी भूकम्प, नाकाबन्दी अनि विश्वमहामारीका रुपमा फैलिएको कोरोना संक्रमणसँग संघर्षसँग जुधिरह्यौं । मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी भूमिकामा रहेका राजनीतिक दलहरु पनि त्यसैगरी आफू–आफूभित्रै जुधिरह्यो । रोग, भोक र शोकमा जनताले आफूलाई समाहित गर्दै नेतृत्व पंक्तिलाई साथ दिइरहँदा पनि विदेशीको इशारामा रमाउँदै मुलुकलाई समृद्ध बनाउने काममा यो देशक चुक्यौं ।
हुन त संघर्षपछिको परिणाम निकै नै आनन्दमय हुन्छ । सत्तरीको दशकमा हामी त्यही संघर्षमा जुट्यौं । अब सुरू भएको ८० को दशकलाई हामीले साँच्चै नै नेपाली जनता र विश्वले अनुभूति गर्न सक्नेगरी अवस्था फेर्नुपर्ने जिम्मेवारी काँधमा छ । यो दशकमा मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्ध बनाउने सोचसहित कार्यान्वयन गर्नतर्फ राजनीतिक दल, विभिन्न पेसागत संस्था, नागरिक स्वयं जुट्नुपर्ने अवसर पनि आएको छ ।
यो अवसरलाई आत्मसात् गर्दै सत्तरीको दशकमा भोगेका र अनुभव गरेका परनिर्भर सोचलाई परिवर्तन गर्नतर्फ लाग्नुपर्छ । सत्ताको नेतृत्व गरिरहेका वा साझेदारी गरिरहेका दलहरुले पनि मुलुकलाई समृद्ध बनाउने प्रण गनुपर्छ । सत्ताको लुँछाचुँढी र भागबण्डामा रमाउँदै परनिर्भरतामा नै फस्यौं भने आगामी दशकमात्र होइन । हाम्रो भावी पुस्ताले निकै नै दुख, कष्ट र संघर्ष बेहोर्नुपर्ने विगतको इतिहासले देखाउँछ ।
त्यसैले अब यो वा त्यो नाममा फुटेर होइन जुटेर मुलुकलाई समृद्ध बनाउने दशकको रुपमा स्थापित गर्ने अभियानमा जुट्नुको विकल्प छैन । ८० को दशक समृद्धि प्राप्तिको दशक बनोस् । सबैमा नयाँ वर्षको हार्दिक शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० १३:१९