काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका उनका निजी चालक दिलबहादुर थापाको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ ।
चालक थापाको चितवनको भरतपुर– ११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थिए । उनी सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार गम्भीर घाइते थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको एसपी कार्कीले बताए । ‘घटनाबारे हामीले अनुसन्धान सुरु गरेका छौँ । अहिले घटनास्थलमा भएकाहरूसँग सोधपुछ गर्दैछौँ, एसपी कार्कीले बताए ।
थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा राति छतमा सुतेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १२:२२